नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको विमानमा आगो लाग्यो



काठमाण्डौं ।
भारतको नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको इन्डिगोको एक विमानको इन्जिनमा उडानको क्रममा शुक्रबार आगो लागेको छ ।
यससँगै उक्त विमान दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा आकस्मिक अवतरण गराइएको छ । यो घटना शुक्रबार राति करिब १० बजेको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीबाट बेंग्लोर जाँदै गरेको फ्लाइट संख्या ६ई–२१३१ को विमानमा देखिएको प्राविधिक समस्याको कारण इन्जिनमा आगो लागेको थियो ।
यससँगै पाइलटले विमानस्थलमा नै आकस्मिक अवतरण गराएका हुन् । समाचारमा उल्लेख गरिएअनुसार विमानका सबै यात्रु सुरक्षित छन् र कसैलाई पनि कुनै क्षति पुगेको छैन ।
पछि अर्को विमानमा राखेर उनीहरुलाई गन्तव्यमा पठाइएको थियो । यो विमानमा १७७ यात्रु थिए र चालक दलका सात सदस्य सवार थिए । इन्डिगोले पनि एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको छ ।
स्रोतका अनुसार विमानको इन्जिनमा आगो लागेको उडानको प्रतीक्षामा रहेको स्पाइसजेटको विमानका पाइलटले जानकारी दिएका थिए ।