निर्वाचनपछि मेरो प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि सत्ताको नेतृत्व गर्ने बिषयमा गठबन्धनमा कुनै ठोस सहमति नभएको बताएका छन् ।
शुक्रबार गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले भावी प्रधानमन्त्री भनेर घोषणा गरेको छैन । साथीहरुले भनिराख्नुभएको छ । सम्भावित त मैले होइन किन भन्नु । सम्भावना त हो । देशको नेतृत्व गर्ने अवसर आयोभने पन्छिने पक्षमा पनि म छैन। तर, प्रधानमन्त्रीको निम्ति मरिहत्ते गरेको छैन ।’
त्यस्तै, गोरखा क्षेत्र नं. २ मा आफ्नो कोही प्रतिस्पर्धी नदेखेको उनले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी नभएजस्तो लागेको छ । प्रतिस्पर्धी मैले पत्ता लगाउन सकेको छैन । प्रतिस्पर्धी को भन्ने चिनेको पनि छैन । देखेको पनि छैन । अस्ति ४४ आज ५ वटा भेटघाट गरियो । मैले प्रतिस्पर्धी देखेको छैन ।’