काठमाण्डौं ।
प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ‘महापुरूष’ले दोस्रो साता पनि बक्सअफिसमा पहिलो नम्बरमा ट्रेन्ड गरिरहेको छ । पहिलो हप्ता ५ करोड ग्रस कमाई गर्दै लगानी सुरक्षित गरेको यस फिल्मले दोस्रो हप्ताको शुक्रवार देशभर ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी कायम गर्दा शनिवार पनी दर्शकको राम्रो साथ पाएको छ ।
काठमाडौंका विग मुभिज, क्यूज सिनेमाज्, एफक्यूब सिनेमाज्, विएसआर मुभिज्, आईएनआई सिनेमाज्, वान सिनेमाज्, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगायतका मल्टीप्लेक्सहरुमा पनि दोस्रो हप्ता दर्शक अकुपेन्सी राम्रो रहेको रिपोर्ट प्राप्त छ । मोफसलतर्फ सिंगल तथा मल्टीप्लेक्सहरुमा पहिलो हप्ता दर्शकको राम्रो साथ पाएको फिल्म दोस्रो सातामा पनि कमजोर छैन ।
बलियो ‘वर्ड अफ माउथ’ले गर्दा दोस्रो हप्ताको आइतवारबाट पनि फिल्मप्रति दर्शकको आकर्षण घट्ने देखिन्न । लामो समयपछि हलमा परिवारसहित फिल्म हेर्ने दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ ।
नेपालमा मात्र नभइ अमेरिकामा पनि फिल्मले दर्शकको राम्रो साथ पाएको छ । अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले फिल्मको प्रदर्शन अधिकार लिएको हो । फिल्मले अमेरिकामा व्यापारसँगै शो संख्या वृद्धि गर्दै लगेको प्रदर्शक प्रतिक सुवेदीले बताए । त्यस्तै, अष्ट्रेलियामा पनि सुखद् प्रदर्शन भइरहेको यो फिल्म आउँदो हप्ताबाट क्यानडामा समेत रिलिज हुने बताइएको छ ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।। ‘महापुरूष’सँगै निर्देशक प्रदीप भट्टराईले लगातार चार फिल्म सुपरहिट दिएका छन् ।