गगन प्रधानमन्त्रीको रूपमा अघि नसरे म सर्छु : महामन्त्री शर्मा
दमक ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने बताएका छन् । मंगलबार झापामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले अबको प्रधानमन्त्री गगनलाई प्रस्ताव गर्ने र उनले दाबी नगरे आफूले अघि सर्ने उनले बताए ।
आफूले गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्दै गगन पछि हट्नु नहुने बताए । उनले भने, ‘गगन थापा अगाडि बढ्नु पर्छ, युवा हो, उमेरले भाइ हो तर मेरो साथी पनि हो, विद्यार्थी राजनीतिक र अन्य राजनीतिमा म अघि भए पनि म भन्दा अघि सांसद भएका व्यक्ति थापा हो ।’
गगन यसबाट पछि हटे आफू प्रधानमन्त्रीको रूपमा अघि बढ्ने पनि शर्माले बताए । ‘यदि गगन अलिकति पछि सरे झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको रूपमा म अघि सर्छु, मैले प्रष्ट भनेको छु र म पछि सर्ने वाला छैन । यो विषय मैले लुकाएर वा सङ्कोच मानेर भनेको छैन र स्पष्ट रूपमा सबैले सुन्ने गरी भनेको छु ।’
उनले यो विषयमा आफूले नेतृत्वलाई समेत भनिसकेको पनि जानकारी दिए । उनले यो पटक निर्वाचन जितेर आफू सिंहदरबार पुग्ने दाबी पनि गरे ।