७० प्रतिशत मत खस्ने आयोगको अनुमान



काठमाडौं ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने बताएका छन् ।
भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो अनुमान गरेका हुन् । निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशत भन्दा बढी मत खस्ने उनले बताए ।
देशैभर मतदान सुरु भइसकेको भन्दै उनले विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह गरेका छन् । उनले सवै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरे ।
थपलियाले देशैभरको निर्वाचनको अनुमगन केन्द्रबाट भइरहेको जानकारी दिए । अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकिय तयारीमा कुनै कमी कमजोरी हुन नदिइएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने उनको विश्वास छ ।
निर्वाचन सकिएलगतै मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने उनले बताए । थपलियाले मंसिर २२ गतेसम्म निर्वाचनको सम्पूर्ण परिणाम आउने दावी गरे ।