मोरङ ६ बाट कांग्रेसका शेखर कोइराला निर्वाचित



मोरङ ।
मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
उनी २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतत्व कोइरालाले गरिरहेका छन् ।