नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर



कैलाली ।
नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो ।
सो निवेदनमाथि अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आइतबार उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिने छ । सो आचधारमा शिक्षक चौधरी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रबक्ता भण्डारीले बताए ।