नेपाल प्रहरीका नवनियुक्त इन्स्पेक्टरले लगाए फूली
काठमाडौं ।
जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय सात जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिए ।
२०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय ११ र खुलातर्फ ३५ जना गरी जम्मा १ सय ४६ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका छन् । जसमा १७ जना महिला छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी उनिहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।