जबरालाई रोक्न सर्वोच्चमा बारको धर्ना



काठमाडौं ।
नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च प्रवेश गर्नबाट रोक्न बारले आज पनि धर्ना दिने भएको हो ।
महाअभियोग लागेका जबराको निलम्बनलाई निष्क्रिय पारिदिने संघीय संसद्का महासचिवको पत्रले उत्पन्न तरंगले शुक्रबार पनि सर्वोच्च प्रभावित हुने बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने बताए । जबरा सर्वोच्च जान प्रयास गरे भने पनि बारको धर्नालाई छलेर जान सक्ने अवस्था कठिन देखिन्छ ।
जबराविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई पत्र थमाएर नियमित कामकारबाहीका लागि अदालत फर्कने बाटो खोलिदिएका थिए । त्यसको विरोध गर्दै बार एशोसियसन आन्दोलनमा उत्रिएको हो ।