रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए



एजेन्सी ।
फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ ।
विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए ।
पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान छिराएका थिए । तर रोनाल्डो र पोर्चुगलले गोल फर्काउन नसक्दा टोली हार बेहोर्न पुग्यो । रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए ।
कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेका रोनाल्डोले समूह चरणको तीनै खेल सुरुवाती रोजाइमा खेलेका थिए । घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए । दोस्रो खेलमा उरुग्वेविरुद्ध ब्रुनो फर्नान्डेसको गोललाई आफ्नो माग गरेका कारण उनी चर्चामा आएका थिए । तेस्रो खेलमा भने उनलाई परिवर्तन गर्दाको व्यवहारका कारण प्रशिक्षक सान्तोस रुष्ट बनेका थिए ।
अन्तिम १६ को खेलमा रोनाल्डो पोर्चुगलको बेन्चमा रहेका थिए । उनी खेलको अन्त्यतिर मैदान प्रवेश गरेपनि उनको स्थानमा आएका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-१ को जित दिलाए । उनै रामोस क्वाटरफाइनलमा भने निकै खराब प्रदर्शन गर्न पुगे । रोनाल्डो दोस्रो हाफमा मैदान छिरेपनि नतिजा बदल्न सकेनन् र विश्वकप बिना नै बिदा भए ।
समग्रमा रोनाल्डोले सन् २००६ देखि २०२२ सम्म पाँच पटक विश्वकप खेले । यसक्रममा उनले ८ गोल गरेका छन् । रोनाल्डोले विश्वकपमा कुल २२ खेल खेले ।हाम्रोखेलकुदबाट