घनश्याम भुसाल र प्रभु शाहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही



काठमाडौं ।
नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा गरेको भन्दै घनश्याम भुसाल र प्रभु शाह सहितका नेताहरूलाई कारबाही गरेको छ ।
शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र शाहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी गरेको हो ।
बैठकले केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको छ । उनीहरूलाई पनि निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको आरोप लगाइएको छ ।
त्यसैगरी पार्टीको केन्द्रीय निकाय तथा विभागमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको एमालेले जानकारी दिएको छ ।
त्यसैगरी एमालेले निर्वाचनमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाएको छ ।