३ महिलासहित २० जनाले उडाए प्याराग्लाईडिङ
उदयपुर ।
उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाईलटले एकै दिन प्याराग्लाईडिङ उडान भरेका छन । उडान भने फ्लाईङ् वन्डर प्याराग्लाईडिङ प्राईभेट लिमिटेट गाईघाटका प्रशिक्षार्थाीले गरेका थिए । कम्पनीबाट विभिन्न कोर्ष गर्ने देशभरका करिब २० विद्यार्थीहरुले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए ।
रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उदयपुरको परिचयलाई देश विदेशमा परिचित गराउँदै विदेशी पाईलटहरुलाई समेत आकर्षित गर्ने उदेश्यले रौताबाट गाईघाटसम्म लामो उडान गरेको राईलाले जनाए । ती विद्यार्थीहरुले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट सीधै गाईघाटसम्मको लामो उडान गरेका थिए । विदेशी पाईलटहरुलाई नेपालमा पनि प्रचुर सम्भावित ठाउँहरु छ भन्ने देखाउँदै बाह्रय पर्यटकको आकर्षण गर्ने उद्देश्यले उडान भरेको जनाइएको छ ।
शनिबार रौता पोखरीको खर्कमा उडान हेर्न स्थानीयहरु निकै उत्साहित भए । रौता दर्शन गर्न पुगेका आन्तरिक पर्यटकसमेत उडान हेर्न खर्क डाँडामा पुगेका थिए । रौताबाट सीधै गाईघाटमा अवतरण गर्न उडेका प्याराग्लाईडिङहरु हावा र मौसमका कारण गाईघाट पुग्न सकेनन् । मौसमको प्रतिकूलताका कारण बरुवा पुल तथा बेलदोभान बाबरीको फिल्डमै ल्याण्ड गरेका थिए । अहिले सम्म कुनै पनि कम्पनी वा व्यक्तिहरुले रौताबाट कहिल्यै उडान गरेका थिएन । पाईलटहरुलाई पूर्व वडाअध्यक्ष खगेन्द्र रास्कोटी स्थानीय नेता र रौताबासीहरुले भव्य स्वागत गरेका थिए ।