अर्जेन्टिना विश्वकपको फाइनलमा


  • अर्जेन्टिना विश्वकपको फाइनलमा
  • एजेन्सी । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को  फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् । आजको जितमा मेसीका साथै जुलियन एकअर्काका लागि परिपुरक जस्तै बने । खेलको ३४ औं मिनेटमा क्रोएसियाका गोलकिपरले १८ यार्ड बक्समा  जुलियनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । जसको भरपुर सदुपयोग गर्दै मेस्सीले गोलको दिशा दिए । पाँचौ पटक विश्वकप खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो बायाँ खुट्टाले पोस्टको दायाँ कुनामा प्रहार गर्दै टीमलाई १–० को अग्रता दिलाए । विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै कीर्तिमान बनाएका मेस्सीले कतार विश्वकपमा मात्रै ५ गोल गरिसकेका छन् ।  यससँगै गोल्डेन बुटका लागि मेसीले आफ्नो दाबी कायमै राखेका छन् । बुधबारको रोमाञ्चक खेलमा मेस्सीले गोल गरेको ५ मिनेटपछि जुलियनले एक गोल थप्दै अग्रता दोब्बर बनाए  । मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका उनले क्रोएसियाको कडा डिफेन्स चिर्दै गोल गर्न सफल भएका हुन् । पहिलो हाफमा २–० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा फेरि जुलियनले मेस्सीको असिस्टमा अर्को गोल गरे । ६९ मिनेटमा गोल थप्दै उनले टीमलाई ३–० को अवस्थामा पुर्याएका हुन् । यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन भने अर्जेन्टिना विजयी भयो । अर्जेन्टिनाले  क्रोएसियालाई हराएर सन् २०१८ को विश्वकपको समूह चरणमा भोगेको ३–० को पराजयको पनि बदला लिएको छ । यसैबीच मेस्सीले विश्वकपमा २५ म्याच खेल्ने जर्मन खेलाडी लोथर म्याथुससँग बराबरी गरेका छन् । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेयता अर्को उपाधि जित्न सकेको छैन । पछिल्लो पटक अर्जेन्टिना सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *