निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै



काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण आज (बिहीबार) राष्ट्रपतिसमक्ष पेश गर्ने भएको छ।
प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन लागेको हो । यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो।
आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
यता प्रदेशतर्फको विवरण भने आयोगले आगामी पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गर्नेछ। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपति र प्रदेश प्रमुखहरूलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।