केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द



काठमाडौं २१ जेष्ठ ।
काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।
अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।