अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि



काठमाडौँ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।
समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएकाे अर्जेन्टिनाले अन्तत विश्वपकप उपाधि उचाल्न सफल भए । खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए ।
खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
खेलको ८०औँ मिनेटमा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए भने त्यसको ८१औँ मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयसम्म दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयमा पुगेको खेलमा अर्जेन्टिनाका लागि १०९औँ मिनेटमा मेस्सीले गोल गरे । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाए पनि रिबाउन्डमा मेस्सीले गोल गर्न सफल भए भने अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।
अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा गोलरक्षक इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिना उपाधि जित्न सफल भयो । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । उपविजेता बनेको फ्रान्सका लागि केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्नबाट चुके । यसअघि फ्रान्स सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।