आज पनि जसपाको बैठक बस्दै
काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरु भएको बैठकमा जसपाका नेताहरुले समसामयीक राजनीतिक विषयमा छलफल गर्न थालेका छन् ।
बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भएको थियो ।
एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरुले नाम टिपाएका छन् । सोमबार २७ जना नेताहरुले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेको पार्टी प्रचार विभागले जनाएको छ ।
निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरुमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरुले तर्क राखेका छन् ।
आजको बैठकमा यसबारे थप छलफल हुने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।