सवारी ट्रायलमा ७० अंक प्रणाली पुन: रोकियो


  • सवारी ट्रायलमा ७० अंक प्रणाली पुन: रोकियो
  • काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि दिइने ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली फेरि रोकिएको छ । आज (बुधबार)देखि लागू गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला वागमती प्रदेश मुख्यमन्त्री कार्यालयले पुनः रोक लगाएको हो । मुख्यमन्त्री कार्यालयको पटक–पटकको हस्तक्षेपका कारण उक्त प्रणाली लागू हुन सकेको छैन । यो तेस्रो पटक मुख्यमन्त्री कार्यालयले हस्तक्षेप गरेर रोक लगाएको हो ।
    मुख्यमन्त्री कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि प्रणाली लागू नगर्न निर्देशन दिएको छ । चार सदस्यीय समितिलाई प्रणाली कसरी लागू गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन दिन भनिएको छ ।
    यही १० गते बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको उपस्थितिमा ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरुले आज बुधबारदेखि ७० प्रतिशत प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका थिए । तर, मुख्यमन्त्री कार्यालयले १४ गते यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको जानकारी गराइएको हो । लाइसेन्समा अंक प्रणाली लागू गर्न खोज्दा मुख्यमन्त्री कार्यालयले गत मंसिर १५ गते पत्र नै लेखेर रोकेको थियो । गत असोज २ गतेबाट लागू गर्ने तयारी गरेकोमा मुख्यमन्त्री कार्यालयले प्रदेश यातायात मन्त्रालयलाई रोकेको थियो । यातायातका कर्मचारीले पोखरालगायत स्थानमा सञ्चालित ट्रायल सेन्टरहरुमा सञ्चालन भएको परीक्षाका सम्बन्धमा अनुगमनसमेत गरेको थियो । सातमध्ये प्रदेश १, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा यो प्रणाली लागू भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *