नियम कानुनको पालनमा दृढ रही काम गर्न डीआईजीलाई गृहमन्त्रीको निर्देशन



काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन् । साथै, प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि आग्रह गरेका छन् ।
कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रही काम गर्न समेत मन्त्री लामिछानेले निर्देशन दिएका छन् । गत २८ पुसमा भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआइजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताए ।
यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न उनको निर्देशन थियो । संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्रभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उनले यति सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नरहने बताए ।