प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित
काठमाडौं ।
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार घिमिरे निर्वाचित भएका हुन् ।
देवराजको पक्षमा १६७ र न्यौपानेको पक्षमा एक सय मत खसेको छ । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
प्रतिपक्षका तर्फबाट नेपाली नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले उम्मेदेवारी दिएका थिए । सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीबाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिएका छन् ।
एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ सांंसद छन् । यस्तै जसपाका १२, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र तीन सांसदले पनि देवराज घिमिरेलाई समर्थन गरेका थिए ।
कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् । कांग्रेसका ८८ (एक निलम्बन), एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनामोर्चाका एक सांसद छन् ।