चिसोले खुम्बुमा पानी जम्न थाल्यो



सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए ।
उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ ।