
असार १७ पछि पनि विद्यालय खुल्ने नखुल्ने अनिश्चित



काठमाडौं
नयाँ शैक्षिक सत्र सुरु नहुँदैदेखि लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यालय कहिले खुल्छन् भन्ने निश्चित छैन । यही अनिश्चितताका वीच कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने प्रस्ताव तयार पारेको छ । तर, समितिको यो प्रस्तावबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले भने केही बताएका छैनन्।
उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणका एक सयभन्दा कम सक्रिय केस भएका जिल्लामा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार पारेको छ । तर, यो कार्ययोजना क्याबिनेटमा लगेर पारित गर्नुपर्ने हुन्छ ।
न्त्रिपरिषदले लकडाउन खुकुलो बनाउनेसम्बन्धी कार्ययोजना ल्याउन दिएको निर्देशनअनुसार उच्चस्तरीय समितिले प्रस्ताव तयार पारेको हो । समितिको प्रस्तावमा आगामी असार १७ देखि सबै प्रकारका शिक्षण संस्थाहरु सञ्चालन गर्न पाइने भनिएको छ ।
उच्चस्तरीय समितिको यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुन बाँकी नै छ । यो प्रस्ताव पारित भएको खण्डमा पनि कोरोना संक्रमितहरुको संख्या एक सय भन्दा बढी भएको जिल्लामा यो कार्ययोजना लागू हुने छैन ।
बिहीबार समितिले गरेको छलफलमा सरोकारवालाहरुले कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण तत्काल शैक्षिक संस्थाहरु खोल्न नसकिने बताएका थिए ।
