यातायात मजदुरसँगको झडपमा २० प्रहरी घाइते
काठमाडौं ।
काठमाडौंको बालाजु क्षेत्रमा भएको यातायात मजदुरसँगको झडपमा परी २० जना प्रहरी घाइते भएका छन् ।
सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिवेश लोहनीका अनुसार केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।
अन्दोलनकारीले प्रहरीका दुई गाडीमा आगजनी गरेको छ । त्यस्तै प्रहरी बिटमा समेत आगनजी भएको छ । उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी बिट जलाएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।
आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ ।