सरकार र यातायात मजदुरबीच वार्ता हुँदै



काठमाडौं ।
आन्दोलनरत यातायात मजदुर र सरकारबीच आज वार्ता हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुरलाई वार्ताका लागि बिहान ८ बजे मन्त्रालय बोलाएका हुन् ।
ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए । सडक अवरुद्ध गरेका थिए ।
उनीहरूले प्रहरीका दुई भ्यानमा समेत आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काएका थिए । सडक डिभाइडर र चोकमा प्रहरी उभिने आइल्यान्डलगायत संरचनामा आगजनी गरेका थिए ।
आक्रोशित यातायात मजदुरले सोमबार साँझ नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मलमा समेत तोडफोड गरे । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । झपडमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।
केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका थिए । उनीहरुले माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने चेतावनी दिएका छन् ।