नामिबियामाथि नेपालको सानदार जित
काठमाडौं ।
आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो ।
नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन बनाए । कूल ९८ बल खेलेको उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
त्यसैगरी ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने कुशल मल्ले ६२ रन जोडे । कप्तान रोहित पौडेलले ३९ रन बनाए । सोमपाल कामी आठ रनमा अविजित रहँदा सन्दीप जोराले तीन तथा कुशल भुर्तेलले एक रन बनाएका थिए । बलिङतर्फ नामिबियाको रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने बेर्नाड स्कोटजले दुई विकेट झारे ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे । नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।
नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालले अव लिग २ मा ९ खेल खेल्न बाँकी छ । घरेलु मैदानमा ५ र युएईमा चार खेल हुनेछन् । नेपाल शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्दै आडिआई मान्यता जोगाउन नेपालले ९ मध्य अव ६ खेल जित्नुपर्ने हुन्छ ।