राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा


  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा
  • काठमान्डौं ।प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताए ।

    उनले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानि निर्वाचन सम्पन्न गराउने स्पष्ट पारे ।  सम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भएपनि हालैको जनगणनापछिको आधिकारीक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८ को जनगणनालाई आधार मान्नुपरेको उनले उल्लेख गरे । उनले २५ गते हुने निर्वाचनका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उनले बताए । 



  • उनले भने ‘हाम्रो अहिले भएको कानूनी व्यवस्था अनुसार स्वभाविक रुपले यो निर्वाचन पनि अन्य निर्वाचन भन्दा अझ मर्यादित ढंगले, व्यवस्थित ढंगले सम्पन्न हुनेछ भन्ने आयोगलाई विश्वास लागेको छ । हाम्रो कार्यक्रम अनुसार आयोगले आजै मतदाताहरुको नामावली आयोगको तर्फबाट अन्तिम रुप दिनेछ । र यहाँ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने छ । जम्मा हाम्रा मतदाता ८८४ जना हो । ५५० जना प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यतर्फ संसद सचिवालयबाट प्राप्त विवरण अनुसार एउटा पद रिक्त रहेको चितवन २ र दुईवटा पदहरु निलम्वित रहेको भन्ने आयोगलाई विवरण प्राप्त भएको छ । त्यसको कानून बमोजिम विश्लेषण गरेर आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । दाबी बिरोध लगायतका प्रक्रियाहरु पूरा गर्नको निम्ति १० गतेदेखि यहाँबाट प्रक्रिया हुनेछन् । १३ गते हामीले मनोनयनको मिति तोकेका छौँ । २५ गते १० बजेदेखि ३ बजेसम्म यहीँ निर्वाचन हुनेछ । हामीले दुईवटा मतदान केन्द्रको यहाँ व्यवस्था गरेका छौँ । प्रतिनिधि सभा सदस्यतर्फ र प्रदेश सभा सदस्यतर्फ । यसको अर्थ के हो भने प्रदेश सभा सदस्यको मतभार र संघीय संसदका सदस्यका मतभार फरकफरक हुने भएकाले दुईवटा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । र अहिले सबैको चासो पनि मतभार कति कायम गर्ने भन्ने व्यवस्था पनि रहेको सन्दर्भमा म यो पनि स्पष्ट गर्न चाहन्छु, हाम्रो निर्वाचन सम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने भन्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगलाई जनगणना सम्पन्न भइसकेपछि आधिकारीक रुपमा जनगणनाको नतिजा प्राप्त भइनसकेको हुनाले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको नै मतभारलाई आधार मानि यो निर्वाचन सम्पन्न गर्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’

    उनले २५ गते दिउँसो ३ बजे सम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताउनु भयो । कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा २६ गते नै अर्को निर्वाचन गर्ने उनले जानकारी दिए । निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *