बालाजु र सोह्रखुट्टे बृत्तका डीएसपीलाई कारबाही गर्न सिफारिस



काठमाडौं ।
काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले बालाजु बृत्तका डीएसपी रविन बिष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो ।
दुवै जनाको जिम्मेवारी निर्वाह चित्तबुझ्दो नभएको छानविन समितिले सोमबार बुझाएको प्रतिवेदनमा उल्लेख छ । बालाजुका डीएसपी बिष्ट भने यसअघि नै त्यहाँबाट रानीपोखरी तानिएका छन् । सोह्रखुट्टेका डीएसपी भने अझै त्यहीँ कार्यरत छन् ।
ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई वटा भ्यान जलाइएको थियो भने ४० बढी प्रहरी घाइते भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आगजनी तोडफोडमा ३५ जना र लुटपाटमा १६ जना गरी ५१ जनालाई पक्राउ गरेको छ।
उनीहरूमाथि आपराधिक उपद्रव र चोरी तथा डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ।