कोरोनाले थप दुईजनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो



काठमाडौं
शनिबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । डोल्पाका एकजना ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पामा गत जेठ २१ गते राति २ बजेतिर एकजनाको मृत्यु भएको छ ।
५८ वर्षीय पुरुष १६ गते सुर्खेतबाट गएर १८ गतेदेखि क्वारेन्टिनमा थिए । उनी दमको रोगी भनेर जानकारी प्राप्त भएको देवकोटाले जानकारी दिए । त्यसैगरी मिर्गौलाको समस्या भएकी महिलाको धनगढीको सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।