काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्।
पुस १० गते प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो। पार्टीका सभापति तथा तत्कालिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विधेयकमा सर्वोच्च अदालतले माघमा १३ गते सांसद पद खारेज गरेपछि उनको मन्त्री पद पनि स्वतः गएको थियो।
लामिछानेले लगत्तै नागरिकता लिएका थिए। नागरिकता लिएलगत्तै उनले गृहमन्त्रालयमा फर्कन कसरत गरेका थिए। तर, प्रधानमन्त्री प्रचण्ड तयार नहुँदा लामिछानेको गृहमन्त्रालयमा फर्कने इच्छा पुरा हुन सकेन। सोही कारण रास्वपाले माघ २२ गते सरकार छाडेको थियो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो।