काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो । अख्तियारले छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न समेत भनेको छ ।
उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपसहित ज्ञवालीविरुद्ध फागुन १४ गते अख्तियारमा उजुरी परेको थियो । ज्ञवालीले जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याएको आरोप छ ।

ज्ञवालीले बुधबार मात्रै एआईजीको दर्ज्यानी चिन्ह लगाएका हुन् । उनी प्रहरी प्रमुखका लागि लविङमा जुटेका छन् । सरकारले शुक्रबार आइजीपी नियुक्त गर्दै छ ।
सरकारले प्रहरी प्रमुख छान्ने बेलैमा ज्ञवालीको उमेर विवादमा छानविन सुरु भएको हो । उमेर तलमाथि गरेर जागिर खाएको पुष्टि भएमा ज्ञवालीको जागिर धरापमा पर्ने देखिन्छ ।