काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (मंगलवार) मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
आज बिहानै टंगालमा मिटरब्याज पीडितहरुको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरुको समस्या समाधानको पहल गर्ने बताएका हुन् ।
‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु,’ उनले भने ।
लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई त्यसतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।
उनीहरुले ‘तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर’ लगायतका नारा लगाएका छन् ।
१२ दिन हिडेर सोमबार काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरु रातभर सडकमै बस्न बाध्य भएका छन् । सोमबार काठमाडौं महानगरले खुलामञ्चको गेटमा ताला लगाएपछि उनीहरुले सडकपेटीमै रात बिताएका हुन् ।
सोमबार जनमत पार्टीका अध्यक्ष सिके राउतले मिटरब्याजी पीडितलाई भेटेर समस्या समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।