काठमाडौं । समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।
पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेको उम्मेदवारी अयोग्य रहेको भन्दै आज चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् । तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।
पौडेलले लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न उजुरीमा माग गरेका छन् । सोमबार लामिछानेले चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

