काठमाण्डौं : चलचित्र ‘गोपी’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल निर्माता श्रीधर पौडेलद्धारा निर्मित चलचित्र ‘बहाव’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यस वर्षको अन्तिम चलचित्रको रुपमा सोलो रिलिज पाएको ‘बहाव’ लाई मल्टीप्लेक्सहरुले पर्याप्त शो भने दिएका छैनन ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले बुधबार भएको प्रिमियरमा दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो ।
प्रेम, विद्रोह र बदलासंगै स्वतन्त्र हिसाबले बाँच्न चाहने एक महिला पात्रको कथाबस्तुमा आधारित चलचित्रमा अभिनेत्री सुरक्षा पन्तसंगै कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट र पवन श्रेष्ठको अभिनय रहेको छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सुजन बडालको सम्पादन रहेको छ । कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन रहेको चलचित्रलाई आरआर फिल्म्स (रोहित-रत्न)ले देशभर वितरण गरेको छ ।
आजबाट प्रदर्शनको तयारिमा रहेका चलचित्र ‘प्रसाद २’लाई भने उच्च अदालत पाटनले निर्माताबीचको आर्थिक लेनदेनका कारण प्रदर्शनमा रोक लगाएको छ ।