गजल — १
बिनाकसुर सभा छली भाग्नु हुन्न भाइ
कान नछामी हल्लापछि लाग्नु हुन्न भाइ
आफूले चाहिँ के दिएँ सोच्नुपर्छ सधैँ
हरेक चीज माटोसँगै माग्नु हुन्न भाइ
धैर्यताको बाँधलाई थुनी राख्नुपर्छ
बेहोसीमै आत्तिएर जाग्नु हुन्न भाइ
आफन्त त सधैँभरि आफ्नै रहन्छ नि
मित्र छोडी रिपूतिर लाग्नु हुन्न भाइ
‘लीला’ गर्न सधैँभरि छुट छँदै छ त
मर्यादाको पर्खालचाहिँ नाघ्नु हुन्न भाइ ।
गजल — २
उज्यालोले भित्र मुटु जल्छ कसैको
समयले नै हुलिया बदल्छ कसैको
जित्छु भन्ने चाहना लिई हिँडेपछि
हार्दा भने सारा तन गल्छ कसैको
मनभरि अन्धकारले राज गरे पनि
फेरि पनि आत्मज्योति बल्छ कसैको
प्रहार गर्छ निराशाको लौरोले अचेल
त्यसैले त मनको गजुर ढल्छ कसैको
रणभूमिमा जतिसुकै जिते पनि लीला
तँ भित्र’नि दादागिरी चल्छ कसैको ।
(वाग्मती–११, कर्मैया, सर्लाही)