हिजोआज परिचयका क्रममा ‘तपाईं के गर्नुहुन्छ ?’ भनेर मलाई सोधियो भने मुस्कुराएर भन्ने गर्छु, ‘म आमा हुँ, मेरा सन्ततिको असल भविष्य निर्माणको काम गर्छु ।’
जवाफ सुनेर मान्छे मलाई अचम्मले हेर्ने गर्छन् । कोही कस्तो अरट्ठिएर जवाफ दिएको होला भन्ने सोचेर चुप लाग्छन् । अनि, कोही दोहोर्याएरै प्रश्न गर्छन्, ‘हैन, कामचाहिँ के गर्नुहुन्छ ?’
आमा बन्नु मेरा लागि एउटा अनुपम वरदान थियो, प्रकृतिको । एउटा अविष्मरणीय अनुभव, अतुलनीय र अवर्णनीय सुरुआत जीवनको । हुन त महिला भएपछि आमा बन्नैपर्छ भन्ने कुरामा व्यक्तिगत रूपमा मेरो कुनै सहमति छैन । महिलाले आमा बनेपछि मात्रै जीवनमा पूर्णता पाउँछिन् वा पूर्ण हुनुको अनुभव गर्छिन् भन्ने कुरामा पनि मेरो विमति छ ।
मेरो व्यक्तिगत सोचाइ अनि बुझाइमा नारी आफैँमा पूर्ण हुन्छिन् र तिनले आफ्नो सम्पूर्णता सिद्ध गर्न सन्तान जन्माइरहनु पर्दैन । विवाह गर्ने वा नगर्ने, सन्तान जन्माउने वा नजन्माउने त्यो हरेकको आफ्नो व्यक्तिगत स्वतन्त्रता र स्वनिर्णयको कुरा हो । यसमा अरू कोहीले आफ्नो विचार वा सुझाव दिइरहनुपर्दछ जस्तो मलाई कदापि लाग्दैन ।
मेरा लागि भने आफ्नो कृति आफ्नै अगाडि हाँस्नु, बोल्नु, हुर्किनु अनि आमा भनी पुकार्नुको बेग्लै महत्त्व थियो, र छ । मातृत्व मेरा लागि प्रायजसो महिलाले अनुभव गर्ने खास अनुभूति मात्र नभएर एउटा पाठशाला, रंगशाला, कर्मशाला, योगशाला अनि सम्पूर्ण रूपमा जीवन बन्न गएको छ ।
एउटा यस्तो जीवन जसमा मलाई अत्यन्त गर्व छ । जहाँ म प्रतिदिन केही सिक्छु–सिकाउँछु, रमाइलो पनि गर्छु । चुनौतीहरू पनि छन्, जसलाई पार गर्दा कहिले थाकेको, हारेको महसुस गर्छु । तर, कहिल्यै थाक्दिनँ र हार्दिनँ पनि ।
बाबुआमा बन्नुअगावैदेखि हामी एउटा के कुरामा स्पष्ट थियौँ भने आउने सन्तान हाम्रा लागि आउने हो । हाम्रो आवश्यकता, हाम्रो सोच र चाहनाअनुसार आउने हो । त्यसमा उसको कुनै आवश्यकता, चाहना वा सोच हुने छैन । त्यसैले आउने सन्तानप्रतिको हाम्रो कर्तव्य हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।
एउटा प्राण यो धरतीमा ल्याइसकेपछि उसलाई राम्रो मान्छे बनाउने, सुन्दर संसारका सुन्दर पक्षहरू चिनाउने अनि आफ्ना लागि मात्र नभई अरूका लागि पनि बाँच्न र केही गर्न सिकाउने सम्पूर्ण जिम्मेवारी हाम्रो काँधमा हुनेछ ।
र, यो जिम्मेवारी कुनै चानचुने जिम्मेवारी भने हुने छैन । यसका लागि मानसिक, शारीरिक, आर्थिक, सामाजिक आदि सम्पूर्ण रूपले तयार भएपछि मात्र कुनै एउटा जीवनलाई स्वागत गर्नु उत्तम हुन्छ भन्ने चेतना हामीमा थियो ।
सन्तानको आगमनसँगै आमाका रूपमा मेरो नयाँ अध्यायको जन्म भएको हो । अहिले म आमाका रूपमा हुर्कँदै गरेको केवल नौ वर्ष भएको छ । यो नौ वर्षमा मैले धेरै कुरा सिकेकी छु । केलाएकी छु । कतिपय स्थापित कुरालाई बेवास्ता गर्दै नयाँ नियमलाई आफ्नो जीवनमा लागु गरेकी छु ।
सबैभन्दा ठूलो कुरा थाक्न, सुस्ताउन वा अल्छी मान्न छोडिसकेकी छु । मलाई के लाग्छ भने, आमाबाबु बनिसकेपछि तपाईंलाई थाक्ने अनुमति छैन । सिक्नुस्, लड्नुस् । तर, फेरि उठ्नुस् । हार्नुस्, तर फेरि जित्नतर्फ लाग्नुस् । माफ गर्न र माफी माग्न सिक्नुस् ।
निःस्वार्थ माया गर्न, आफू खुसी हुँदै अरूको खुसीलाई प्राथमिकतामा राख्न, अरूका लागि बाँच्दै आफ्ना सपनाहरू पनि पूरा गर्न सिक्नुस् । केही अधुरा, केही अपुरा सिकाइसँगै जुध्दै समयानुसार आफूलाई अध्यावधिक गराइराख्नुस् ।
एउटा भविष्य निर्माणको काममा अहोरात्र खट्ने मान्छेलाई थाक्ने वा ‘जानिनँ’ भन्ने अनुमति पक्कै छैन । मेरो विचारमा सकारात्मक सिकाइ मनोवृत्तिको विकास गर्नुको विकल्प हुँदैन, अभिभावकत्वको यात्रामा ।
सन्तानको हुर्काइसँगै उसलाई दिनुपर्ने उपयुक्त हेरचाह, ऊसँग बिताउनुपर्ने गुणस्तरीय समय, अभिभावकका रूपमा बुझ्नुपर्ने उसका उमेरअनुसारका आवश्यकता, सुनिदिनुपर्ने उमेरअनुसारका कुरा, उसको हाँसोमा लुकेको खुसीको कारण, उदासीपछाडिको कारकतत्त्व, कहिले उसको हाँसोपछाडि लुकेको उदासीनता त कहिले उदास आँखाहरूमा छाएको अठोट अनि आशाको हल्का बादल सबै बुझ्दै जानुपर्ने हुन्छ, अभिभावकले ।
सन्तानलाई बुझ्दै उसको असल साथी, उसको सुरक्षाको केन्द्रविन्दु, आँट, साहस, हारेर फर्कने ठाउँ, जितेर मुस्कुराउने मुस्कान, थाकेर बिसाउने चौतारी अनि दौडेर÷उडेर नाप्न नसकिने फराकिलो परिधि बनिदिनुपर्दछ, अभिभावकले । मेरो विचारमा, अनि मात्र एउटा सन्तानले निर्धक्क भएर आफ्नो मनको कुरा भन्न, आफूलाई मनमा लागेको काम गर्न र आफूले चाहेको जीवन आफ्नो सर्तमा बाँच्न सक्ने असल मानव भएर हुर्कने मौका पाउँदछ ।
जागिरे जिन्दगीसँगै यी र यस्ता प्रयास सहज र सम्भव देखिनँ, मैले । त्यसैले जागिर छोड्ने निर्णय गरेँ । त्यो निर्णय मेरा लागि एकदम सहज र तार्किक थियो । किनकि, कसका लागि, किन र केका लागि म यो निर्णय लिँदै छु भन्ने कुरामा स्पष्ट थिएँ ।
‘हामीले आफ्नो सन्तानको वास्ता गरेका छैनौँ र ? सबै सँगै लैजान सम्भव नै छ नि, हामीले पनि गरेकै छौँ क्यारे ! तेरो पो बुढाले कमाएर पुग्छ, सबैलाई यस्तो गर्न कहाँ पुग्छ ? आफूलाई बसेर खान रहर लाग्यो अनि बच्चा हेर्ने बहाना बनाएकी नि !’ यी र यस्ता अनेकौँ प्रश्न अनि कटाक्ष तेर्र्सिए, मेरो निर्णयका अगाडि ।
समाज र यसको सोचसँग जानकार मलाई यस्ता वचनले हलचल गराउन सकेनन् । किनकि, मेरो निर्णय नितान्त मेरो थियो र यो निर्णय म किन लिँदै थिएँ भन्ने कुरामा पनि स्पष्ट थिएँ । आफूले खुसीसाथ लिएका निर्णयमा अरूले के भन्छन् र के सोच्छन् भन्ने कुराले खासै महत्त्व पनि राख्दैन भन्ने मेरो सोच हो । म त्यसमा अडिग पनि छु ।
यस्तै गरी परिवारबाट पनि कुनै विकल्प खोज्ने तर जागिर छोड्न नहुने तर्क अगाडि नआएको पनि हैन । तथापि, त्यस बेला उहाँहरूसँग मेरो एउटै प्रश्न हुने गर्दथ्यो– नचिनेको मान्छेलाई म केही घण्टा हेरिदेऊ है भनेर आफ्नो कुनै सामान वा गरगहना त दिन सक्दिनँ भने आफ्नो सन्तान कसरी अरूको जिम्मा लगाउन सक्छु ?
मेरो यो प्रश्नको चित्तबुझ्दो जवाफ उहाँहरूसँग पनि हुँदैनथ्यो । जसले गर्दा म विश्वस्त हुन पनि सक्दिनथँे र अरूले यसै त गरेका छन् भनेर त्यस्तै गर्न तयार हुन पनि सक्दिनथेँ ।
जागिर खाने बेला नौ बजेको कार्यालय समय भ्याउन आठ बजे घरबाट ननिस्की नहुने, आठ बजे घरबाट निस्किन बिहानै छ बजे बच्चालाई उठाएर, हतारमा तयार गराएर, उसलाई भोक लागोस्÷नलागोस्, खाने मन होस्÷नहोस्, छिटोछिटो कोचाउँदै, अझ बच्चाले मन खोलेर गफ गर्न खोज्यो भने छिटो गर् भनेर हकार्र्दै, कति ढिलो खाएको, किन ल्याङल्याङ गरेको भनेर गाली गर्दै, उस्तै परे आफैँ मुखमा गाँस कोच्याइदिँदै लुगा लगाइदिएर विद्यालयमा पु¥याई हतारहतार कार्यालय भेट्नुपर्ने !
साँझ बच्चाको बिदा हुन्छ तीन बजे, आफ्नो कार्यालय सकिन्छ साढे पाँच बजे । त्यो बेलासम्म बच्चालाई विद्यालयमै राखेर उसको सजिलो÷अप्ठ्यारो विद्यालयकै जिम्मा लाएर, उसको भोक, थकाइ, निद्रा सबैमा उसलाई नै सम्झौता गर्न लाएर बच्चाकै सुखद भविष्यका लागि त यति दुःख गरिराखेको हो नि भन्दै आफ्नो चित्त बुझाउनुपर्ने ।
कार्यालय समय सकेर घर आउँदा कम्तीमा सात बजेको हुन्छ । बिहान आठ बजे छुट्टिएको बच्चा करिब बाह्र घण्टापछि आमा देख्दा बोल्न, खेल्न, दिनभरिका कुरा सुनाउन खोज्छ । अँगालोमा आमासँग लुटपुटिएर मायाको न्यानो स्पर्श र शीतल छहारी खोज्छ । तर, आमालाई दिनभरको कार्यालयको किचकिचले थकाएको हुन्छ । कामको भारी, बाटोको जामले गलाएको हुन्छ । अनि, रात्रिकालीन खानाका लागि कतिखेर तयारी गर्ने, के पकाउने, कतिखेर सारा काम सकाउने भन्ने हतारोले मन अत्तालिएको हुन्छ ।
यो हतास र हतारको वातावरणमा कहिले पाउने त्यो अबोधले गुणस्तरीय समय अभिभावकबाट ? आमाको मात्रै हैन, पिताको पनि उस्तै हुन्छ दिनचर्या । हतार, चिन्ता र सामाजिक चुनौतीले भरिएको । अनि, विद्यालयको कुनै बिदा जसमा अभिभावकको कार्यालयमा बिदा छैन भने त आफ्नै बच्चा पनि अभिभावकलाई बोझजस्तो महसुुस हुने । कहाँ छोडेर जाने, कोसँग छोडेर जाने ?
त्यसमा पनि एकल परिवारको व्यथा त झनै डरलाग्दो हुने गर्दछ । बच्चा बिरामी भयो, अभिभावकलाई बच्चा हेरौँ कि कार्यालय जाऊँ, पीरमाथि पीर । बच्चाको लामो बिदा आयो, कसले बिदा लिने वा कसले आफ्नो कार्यालय लैजाने, कसरी मिलाउने, अभिभावकलाई अर्को पीर ।
बच्चाको जिउ न हो, विद्यालयमा अचानक अप्ठ्यारो भयो, बच्चालाई लिन आउनुहोस् भन्ने कल आयो, अभिभावकलाई अर्को पीर । अर्थात्, बच्चा र कार्यालयबीच सामञ्जस्यता मिलाउन सजिलो छैन । पीरैपीरको भारी, तनाव नै तनाव । त्यही तनावका बीचमा काम सक्याउनुपर्यो, घर पनि सम्हाल्नुपर्यो । अनि, बच्चालाई सुरक्षित र सप्रेम राख्नुपर्यो ।
धेरै अभिभावकले यो कुशलतापूर्वक गरिरहनुभएको छ । मेरो हकमा मैले यति धेरै तनावबीच सन्तानलाई समय त दिन सक्छु, तर गुणस्तरीय समय दिन सक्दिनँ । माया त दिन सक्छु, तर उसले चाहेको जति दिन सक्दिनँ । हेरचाह त गर्न सक्छु, तर यथेष्ट गर्न सक्दिनँ । उसको वरिपरि त हुन्छु, तर उसले चाहेको पलमा हुँदिनँ ।
उसका कुरा सुन्ने, ऊसँगै हाँस्ने, खेल्ने, उसलाई बुझ्ने, ऊबाट पनि सिक्ने अनि उसलाई सिकाउने, रहरहरू साटासाट गर्ने, उसको बालापनको साक्षी बन्ने सबै कुरा तनावबीच स्तरीय रूपमा गर्न सक्दिनँ भन्ने मेरो व्यक्तिगत ठम्याइ रह्यो ।
त्यसैले मैले मेरो सन्तानलाई प्राथमिकतामा राख्दै जागिर छोडेँ र त्यो नै मेरो जीवनको नितान्त सही कदम थियो । जसमा आज पनि मलाई उत्तिकै गर्व छ । त्यसो भन्दै गर्दा मैले सबै अभिभावकलाई वा आमाहरूलाई जागिर छोड्नैपर्छ भनेर भन्न खोजेको भने कदापि होइन ।
मेरो जोड कहाँनेर हो भने, जसरी सक्नुहुन्छ, जुन रूपमा सक्नुहुन्छ सन्तानलाई गुणस्तरीय समय, यथेष्ट माया, उचित हेरचाह दिनैपर्ने हुन्छ । त्यसमा कञ्जुस्याइँ वा हेलचक्र्याइँ गर्ने छुट अभिभावकलाई हुँदैन ।
मेरो विचारमा हाम्रा बच्चाहरू हामीसँगसँगै बस्ने भनेको मुस्किलले एसईई उत्तीर्ण गर्दासम्म अर्थात् पन्ध्र वर्षसम्म मात्रै हो । त्यो समयपछि हामीले बच्चा हामीसँगै बस्लान् भन्ने आशा गर्नु हुँदैन । उनीहरू चाहेर पनि बस्न सक्दैनन् ।
अर्को पक्ष, बच्चा जन्मिएपछि सात वर्षसम्मको उमेर भनेको यस्तो समय हो, जहाँ उनीहरूले देखेका, सिकेका र अनुभव गरेका स्मृतिले जीवनभर प्रभाव पार्छ । त्यस्तै, सातदेखि नौ वर्षसम्मको उमेर जीवनोपयोगी सीपहरू सिक्ने र किशोरावस्था प्रवेशका लागि तयार हुने उमेर हो ।
किशोरावस्थामा बालबालिकामा हुने शारीरिक, मानसिक र व्यावहारिक परिवर्तनले उनीहरूलाई नितान्त विश्वसनीय र नजिकको साथीको आवश्यकता हरसमय महसुस गराइराखेको हुन्छ ।
यसरी केलाउँदा मैले आफ्नो विश्लेषणमा के पाएँ भने अभिभावकले आफ्नो सन्तानसँग बस्ने, गुणस्तरीय समय बिताउने, राम्रो स्मृति बनाउने अनि भोलिका लागि असल मान्छे बनाउने तयारी गर्ने भनेकै यही पन्ध्र वर्षसम्मको समय हो । तसर्थ, मैले यो समयलाई पनि अन्त बाँडे भने भोलिका दिनमा मलाई नै ठूलो घाटा लाग्ने छ ।
हरेक बालबालिकाले आमाबाबु, घरपरिवार र छरछिमेकबाट मूल्यमान्यता र संस्कृति सिकिरहेका हुन्छन् । हामीले बालबालिकालाई आफ्नो परिस्थितिअनुसार व्यवस्थापन गर्दा उनीहरूले पनि त्यही सिक्ने हो । अनि, बुढेसकालमा त्यही बच्चाले तपार्इंलाई पनि त्यसैगरी आफ्नो परिस्थितिअनुकूल व्यवस्थापन गर्दा यहाँलाई आपत्ति होला कि नहोला ?
साना बालबालिका बोल्न सक्दैनन्, प्रतिकार गर्न सक्दैनन् । तर, अभिभावकबाट सिकिरहेका हुन्छन् भन्ने मेरो व्यक्तिगत ठम्याइ हो ।
कार्यालयको जागिर छोडेर पूर्णकालीन आमाको भूमिका निर्वाह गर्न थालेपछि मैले आफ्नो समयको धेरैजसो भाग अभिभावकत्व र अभिभावकको जिम्मेवारीका विषयमा पढ्न, बुझ्न, सिक्न र त्यसलाई व्यवहारमा लागु गर्नमा व्यतीत गर्न थालँे । मलाई मेरा सन्तान सम्पूर्ण रूपमा एउटा विश्वविद्यालयजस्तो लाग्यो, जहाँ म अनगिन्ती संकायहरूमा अगणित विषयहरू पढ्न सक्थेँ । बुझ्न सक्थेँ । अनि फेरि प्रयोगात्मक कक्षामा जसरी व्यवहारमा लागु पनि गर्न सक्थँे ।
साथी अभिभावकहरूलाई जानेका कुरा सिकाउन सक्थेँ । अनि, उनीहरूबाट आफूले पनि केही कुरा सिक्न सक्थेँ । मैले मेरो सन्तानरूपी विश्वविद्यालयबाट खाना र पोषण, स्वास्थ्य तथा शारीरिक शिक्षा, मानसिक स्वास्थ्य, खेल, विद्यालय र वातावरण, परिवार, छिमेक र समाज, सरसफाइ र स्वच्छता, नैतिक शिक्षा, व्यावहारिक शिक्षा, सहयोग र सहकार्यजस्ता अनगिन्ती विषयका बारेमा सिक्ने÷सिकाउने, व्यवहारमा लागु गर्ने÷गराउने मौका पाएँ । जसले मेरो सन्तानलाई मात्र हैन, अभिभावकका रूपमा मलाई पनि आफ्नै परिष्कृत र परिमार्जित संस्करण बन्न सहयोग गरेको छ ।
हिजो मलाई ‘मूर्ख’ भन्नेहरू आज मेरो अभिभावकीय कलाको तारिफ गर्ने भएका छन् । हिजो ‘सन्तानकै लागि भनेर सबथोक छोड्न त पर्दैन भो’ भन्नेहरू आज सन्तानलाई प्राथमिकतामा राखेर छलफल गर्न थालेका छन् । ‘बालबालिका त सबैका हुन्छन् नि, तिम्रो मात्रै के नै फरक हो र’ भन्नेले पनि आज हरेक बालबालिका आफैँमा फरक हुनेरहेछन् र तिनलाई त्यसैअनुरूप बुझ्नुपर्ने रहेछ, तिमीले हाम्रो बच्चालाई बुझ्न सिकायौ भन्ने गरेका छन् ।
हिजो मैले सन्तान हुर्काउने क्रममा कतिपय पुराना मान्यतालाई नमान्दा, परम्परा नपछ्याउँदा मसँग रिसाएकाहरू आज उनले त यसो गरेर हुर्काएकी हुन्, आज त्यस्तो राम्रो छ, हामीले पनि त्यसै गर्नुपर्छ भनेर अनुसरण गर्न थालेका छन् ।
हरेक राम्रो कामको थालनी गर्दा चुनौती आइलाग्छन् । कतिपय निर्णयमा एक्लो भइन्छ । बुझ्नेले कदर गर्छन् । नबुझ्नेको भनाइ पनि खाइन्छ । तर, आफू स्पष्ट भएर लिएको निर्णयले अन्ततोगत्वा सदैव गर्व र खुसी नै दिने गर्छ, जुन आज म महसुस गर्दछु ।
जब हरेक दिन मेरो सन्तानको हुर्काइ नियाल्छु, उसले चाहेको हरेक पलमा ऊसँगै हुन्छु । उसको बालापनको साथी बन्छु । उसका कुरा ध्यानपूर्वक सुन्छु । उसको खुसी–उदासी, उसको चुलबुलेपनालाई सजिलै चिन्छु । उसका अनगिन्ती प्रश्नका उत्तर खोजीखोजी दिन्छु । फुर्सदका समयमा ऊसँग कहिले चित्रमा रङ भर्ने, कहिले उसले बजाएको, गुनगुनाएको संगीतमा हराउने, उसका बिदाहरूमा सँगै घुम्न जाने, योजनालाई यथार्थको स्वरूप दिन सहयोग गर्ने, ऊसँगै पढ्ने, खाने, जिस्किने अनि उसको व्यक्तित्व र भावनालाई सम्मान गर्दै आउने दिनमा एक जिम्मेवार र स्वतन्त्र नागरिक बनाउने मेरो यो यात्रा आज तनावरहित वातावरणमा खुसीसाथ अगाडि बढिरहेको छ ।
एकजना साथीले मलाई भेटेर भन्नुभएको थियो, ‘तपार्इंलाई कति नियालेँ मैले, तर बच्चाको लागि आफ्नो करियर छाडेकोमा एक थोपा पनि पछुतो वा चिन्ता देखिँदैन नि अनुहारमा ! उल्टो एकदम गर्व र खुसीले झल्किएको अनुहार देख्छु सधैँ । के तपाईंलाई आफू पछाडि परेकोमा कुनै पनि पछुतो लाग्दैन ?’
मैले पनि मुस्कुराउँदै भनेको थिएँ, ‘करियर अगाडि बढाउने भनेको पनि पदोन्नति हुने, दिन–प्रतिदिन केही नयाँ सिक्ने, अद्यावधिक हुने, केही जिम्मेवारी वहन गर्ने, अनि उद्देश्यमा खरो उत्रने र केही कमाउने नै हैन र ? अनि, पूर्णकालीन आमाका रूपमा मेरो कामले मलाई यी सबै अवसर दिनदिनै दिएकै छन् त मैले पछुताउनुपर्ने वा पीर मान्नुपर्ने ठाउँ कहाँनिर छ ?’
मेरो उत्तरमा लुकेको गाम्भीर्यलाई उहाँले तीन दिनपछि टेलिफोन गरेर ‘कस्तो महत्त्वपूर्ण जवाफ दिनुभएको, मलाई त साह्रै चित्त बुझ्यो । मैले तपाईंबाट धेरै कुरा सिके नि !’ भन्नुभएको थियो । त्यो पनि मेरो उपलब्धि नै थियो ।
समयसँगैको मेरो सिकाइले अभिभावकत्व साधारणतया मान्छेले सोचेजस्तो सजिलो र स्वतः हुँदै जाने विषय होइन भन्ने कुरामा मलाई झन् स्पष्ट बनाउँदै लग्यो । सामान्यतया हाम्रो समाजमा सन्तान जन्मेपछि हुर्किहाल्छन्, जन्मिन बेर हो, ठूला त आफैँ भइहाल्छन् भन्ने सोच रहेको पाइन्छ ।
तर, अभिभावकका रूपमा मेरो सिकाइ र बुझाइले त्यसो भन्दैन । सन्तानलाई हामी खाली पाना, काँचो माटोजस्ता धेरै विशेषणका साथ बयान गर्छौँ । खानलाउन दिएकै छु, भनेको पुर्याइदिएकै छु, सकेको जति समय दिएकै छु भन्छौँ । तर, सन्तानलाई सन्तानकै रूपमा, बालबालिकालाई बालबालिका नै भएर बुझ्ने, तिनको मनस्थिति बुझेर व्यवहार गर्ने, उमेरअनुसारको साथी बनिदिने, तिनलाई त्यसै किसिमको सम्मान दिने, आफ्नो संस्कार रीतिरिवाज–परम्पराका बारेमा ज्ञान दिने, कुसंस्कारका बारेमा सचेत गराउँदै सुसंस्कारलाई व्यवहारमा लागु गर्न सिकाउने, तिनको पढाइमा सहयोग गर्दै व्यवहारमा असल मान्छे बन्न सिकाउने काम कदापि पनि सजिलो र स्वतः हुँदै जाने कुरा हो भन्नु मलाई न्यायसंगत र तर्कसंगत लाग्दैन ।
अभिभावकत्व मेरो विचारमा अनवरत सिकाइ हो । थाहा नै नदिएर आइपर्ने चुनौतीको सँगालो हो । असल मानव र समाज निर्माणको उत्तरदायित्व हो । खुसी, सुखी र सरल व्यक्तित्व निर्माणको जिम्मेवारी हो । यो प्रयासमा आज पनि म सिक्दै छु । नयाँ कुरा मनन गर्दै छु । आफूले सिकेको कुरा अन्य अभिभावकलाई पनि सिकाउन मलाई उत्तिकै रमाइलो लाग्छ । यसलाई म आफ्नो कर्तव्य पनि सम्झिन्छु ।
हाम्रो समाजमा अहिले पनि परम्परागत ज्ञान, पुरानै मान्यता र यथास्थितिकै जानकारीका आधारमा बालबालिकालाई हुर्काउनु सामान्य मानिन्छ । अहिले पनि हामीमध्ये अधिकांश ‘जन्मेपछि हुर्किन त बेर नै लाग्दैन’ भन्ने मानसिकता लिएर हिँडिरहेका हुन्छौँ । सन्तानको आमाबाबुप्रतिको कर्तव्यको सूची बनाउन हामी खप्पिस छौँ । तर, अझै पनि अभिभावकका रूपमा हाम्रो वास्तविक भूमिका के हो र त्यो भूमिका कुशलतापूर्वक निर्वाह गर्न हामीले के कस्ता प्रयासहरू गर्नुपर्दछ भन्ने विषयमा छलफल गर्ने चाख राख्दैनौँ । फुर्सद निकाल्दैनौँ ।
तर, वास्तविकता के हो भने हामी बद्लिन नखोजे पनि समय परिवर्तनशील छ । हिजो हाम्रा बाजेबज्यैले वा हाम्रा आमाबाबाहरूले हामीलाई हुर्काएको तरिकाले अबको सूचना प्रविधिको पहुँचको बाढी आएको समाजमा हाम्रा नानीबाबुलाई हुर्काउन खोज्दा केही तरिका मिले पनि सबै तरिका मिल्दैन । जसले गर्दा हाम्रा नानीबाबुहरूलाई विवेकशील, कुशल र उत्तरदायी अभिभावकत्व दिनबाट हामी चुक्न सक्छौँ ।
त्यसैले पुराना मान्यताको सम्मान गर्दै, परम्परागत ज्ञानबाट सिक्दै, हामीसँग पहिलेदेखि नै भएका जानकारीलाई समयसँगै अद्यावधिक गर्दै सिक्ने र सिकाउने यो अभिभावकत्वको मार्गमा निरन्तर हिँड्नु अपरिहार्य हुन आउँछ । यो प्रयासमा अभिभावकहरू एकार्काका असल सहयोगी र प्रोत्साहनका रूपमा सदैव एकार्कासँग रहन सके हाम्रा बालबालिकाको हुर्काइ सहज, सरल र प्रभावकारी हुनेमा कुनै आशंका रहन्न । अन्ततोगत्वा एउटा असल समाजको निर्माण पक्कै पनि सुनिश्चित छ ।हाह्रखरी