लघुकथा
“आउने बुधबार भान्जाको व्रतबन्ध छ । बिदा मिलाउनुपर्ला है,” घरबाट निस्कने बेला उमाले भनिन् ।
“भन्नु त पर्ला, तर के हुन्छ कुन्नि !,” ऊ घरबाट निस्कियो ।
“एउटा भान्जाको व्रतबन्धमा डालो समाउने मामा नहुँदा बैनीले पीर मान्नुहुन्छ, विचार गर्नुहोला,” उमाले सम्झाइन् ।
हाकिमलाई लिएर अफिस जाने क्रममा गाडीमा भन्नुपर्ला भनेको हाकिमसाहेब फोनमा व्यस्त भए । अफिस गएपछि उसलाई हाकिमले भने, “ल, पर्सि मंगलबारबाट तीन दिनको भ्रमणकाज भर है ।”
“सर, म त बिदामा बस्नु छ । भान्जाको व्रतबन्ध छ,” उसले डराएर भन्यो ।
“के गर्ने, अफिसको त्यस्तै काम आयो,” हाकिमले भने ।
“भ्रमण आदेश कहाँको भरौँ सर ?,” उसले सोध्यो ।
“काठमाडौं भर न,” उसलाई भनियो ।
“यसपटक पनि प्लेनमा जानुभए हुन्न र ?,” झिनो आशामा ङिच्च दाँत देखाउँदै भन्यो ।
“बढी जान्ने हुने हैन,” हाकिम कठोर देखिए । ऊ खिन्न मन घर पुग्यो ।
मंगलबार हाकिमलाई लिएर निस्कँदै चोकमा पुग्यो । हाकिमले काठमाडौं जाने बाटोभन्दा अन्यत्रै गाडी मोड्न लगाए ।
“सर, हामी काठमाडौं जाने भनेको हैन र ?,” उसले सोध्यो ।
“के गर्ने, भोलि सालाको छोराको भातखुवाइ छ । जसरी पनि जानुपर्यो,” हाकिमले जवाफ फर्काए ।
(पोखरा–७, मासबार, कास्की)