नयाँ पुल
“बाबा, उताको पुलबाट किन कुनै पनि गाडीहरू नहिँडेर यो साँघुरो पुलबाट मात्रै हिँडेको ?,” छोरोले सोध्यो ।
“पुलको काम बाँकी छ होला,” मैले अनुमान लगाउँदै छोरालाई जवाफ दिएँ ।
बसमा सँगै बसेको एकजना भाइले भन्यो, “सुरुबाट नै गुणस्तर र मापदण्ड नपुर्याएको भनी विशेषज्ञले भन्दा भन्दै ठेकेदारको मुढे पेलाइले बनाएको हो ।”
“कसरी जबरजस्ती बनाएछ त ?,” मलाई पनि जिज्ञासा लाग्यो ।
“पुलको काम सक्दा नसक्दै मन्त्री हौँला र बिल पास गरौँला भनेर होला नि !,” कलेजबाट आफ्नो कोठामा जाँदै गरेको भाइले बसबाट ओर्लंदै भन्यो ।
सबैको आँखा पर्ने राजधानीमा त यसरी पेल्छन् भने हाम्रो गाउँ जाने बाटो कस्तो बनाए होलान् ? मलाई गाउँको बाटाको चिन्ता पर्यो ।
नयाँ वर्ष
“भोलि दिनभरि सबै घरमा नै बसौँ है आमा ?,” बाहिर डुल्न हिँड्दा खर्च गर्ने पैसा आमासँग नभएको कुरा बझेर छोरीले भनी ।
“हो त ! हजुर, दिदी र म मात्र भए पनि सँगै घरमा बस्न कति रमाइलो हुन्छ । बिदा पनि छ,” पर्वको दिन पारिवारिक जमघटको रहर छोरामा पनि आयो ।
“हुन त हुन्थ्यो, तर नयाँँ वर्ष मनाउने भनेर भोलि मैले काम गर्ने मेडमले घरमा धेरै पाहुना बोलाउनुभएको छ । काम पनि धेरै हुन्छ । मैले छुट्टी पाउँदिनँ,” नयाँ वर्षको पहिलो दिन छोराछोरीसँगै बस्ने चाहना हुँदाहुदै मैले आफ्नो बाध्यता सुनाएँ ।
(पोखरा–७, मासबार)