आफ्नोजस्तो नभएको आफ्नो देश


  • आफ्नोजस्तो नभएको आफ्नो देश
  • साहित्य

    एक हुल रहरहरू
    आज पनि साइत सार्दै थिए
    सपनाको भूगोलतिर मनहरू अड्याएर
    आफ्नो देश 
    आफ्नोजस्तो भएन 
    मनमनै गरेको कुरा यता प्रस्टै सुनिन्थ्यो भीडमा 
    तर, सुन्नुपर्नेले सुन्दैनथ्यो ।

    आँखाका डिलमा उभिएका  
    आशाका दानाहरू एक–एक गरेर खस्दै थिए 
    टिप्दै थिए आफन्तहरू फाँदमा 
    लस्कर हिजोजस्तै थियो आज पनि 
    आफ्नो देश
    आफ्नोजस्तो भएन
    भुईंमा असरल्ल आवाजहरू  
    कानसम्म पुग्नुपर्थ्यो कसैको
    तर, पुगेन कसैगरी ।



  • हिउँदमा मात्र साइबेरियाबाट चराहरू यता झर्छन् 
    जाडो सकिएपछि फर्कन्छन् आफ्नैमा 
    त्यति पनि छुट छैन हामीलाई  
    चहराउँदै गरेका बाह्रमासे घाउहरू  
    आफ्नो देश 
    आफ्नोजस्तो भएन 
    आर्तनाद गर्दै थिए दृश्यमा
    ख्याल गर्नुपर्थ्यो हाम्रो आर्जनले पालिनुपर्नेले 
    तर, हेर्दै हेरेन अहिलेसम्म ।

    रोकिएको छैन जात्रा 
    आफ्नै लालपुर्जामा पराईले हलगोरु नार्दा पनि
    छेकिएको छैन यात्रा 
    बन्द बाकसमा फर्कन परे पनि 
    कतै फरक परेको छैन मात्रा 
    आफ्नो देश 
    आफ्नोजस्तो भएन 
    रातभरि जुनकिरीले खोज्दै हिँडिरहेछ
    कतै न कतै त फेला पर्नै पर्ने हो धीरोदात्त 
    तर, अहिलेसम्म परेन 
    हेर्दै उडिरहेछ आशा कुहिरोभित्र आज पनि ।

    (ओम आचार्य अर्घाखाँची)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *