काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशी प्रदेशका विभिन्न जिल्ला पुगिरहेका छन् ।
शनिबार राति अविरल वर्षाका कारण आएको बाढीपहिरोले सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा वितण्डा मच्चाएको छ । अहिलेसम्म तीन जिल्लामा गरी ७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
सोही क्षेत्रको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड जिल्लाका प्रतिनिधिहरूसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । तर प्रतिकुल मौसमको कारण पाँचथरमा भने प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकप्टर ल्यान्ड हुन नसकेको उनको सचिवालयले जानकारी दिएको छ ।
अवलोकन गर्नेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ पनि छन् ।
यसअघि प्रधानमन्त्रीले सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।