काठमाडौं । गत २४ चैत २०७९ मा दृष्टिन्यूजमा प्रकाशित ‘डिएसपीको कमाउ धन्दा’ शीर्षकमा प्रकाशित समाचारको इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुख डिएसपी उद्धवसिंह भाटले खण्डन गरेका छन् ।
प्रकाशित समाचारमा आपत्ति जनाउँदै इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुख डिएसपी भाटले समाचारप्रति असन्तुष्टि जनाएका छन् । उनले खण्डनमा भनेका छन्–
दृष्टि मिडिया प्रा.लि.बाट सञ्चालित अनलाइन दृष्टिन्यूजमा ‘डिएसपीको कमाउ धन्दा’ शीर्षकमा मेरो फोटोसमेत राखी प्रमाणहिन, आधारहिन, तथ्यहिन र कपोकल्पित समाचार प्रशासरण गरी बेइज्जत र चरित्र हत्या गरेको विषयमा मेरो गम्भीर आपत्ति रहेको छ ।
प्रहरीले कानुन बमोजिम इमानदार भएर काम कारवाही गर्दा कारवाहीमा परेकाहरु रुष्ट र असन्तुष्ट हुनु स्वभाविक मान्न सकिन्छ तर कानुनी कारवाही भोगेका असन्तुष्ट पक्ष वा कसैको निहित स्वार्थ बमोजिम नचल्दा उनीहरुले लगाएका मनगणन्ते कहानीहरुलाई मेरो फोटो समेत राखेर समाचार बनाउनु पत्रकारिताको आचारसंहिताभित्र पर्छ कि पर्दैन ? जसको विषयमा समाचार बनेको छ उसको विचार पनि समाचारमा राख्नु पर्छ कि पर्दैन ? यसरी विना प्रमाण चरित्रहत्या गर्ने किसिमले समाचार बनाउँदा मिडियाको विश्वसानीयता माथि प्रश्न उठ्छ कि उठ्दैन ?
यो समाचारमा एक शब्द पनि सच्चाइ नभएको कुरा म प्रष्ट पार्न चाहन्छु । नियम कानुन बमोजिम पाउने तलब, भत्ता र राशन बाहेक आजको मिति सम्म व्यक्तिगत फाइदाको लागि कसैबाट एक पैसा नलिएको । ठीक २ महिना अघि मिति २०७९ माघ २५ गते म यो कार्यालयमा हाजिर भएपछि शान्ति–सुरक्षा चुस्तदुरुस्त बनाएको, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, चोरी–तस्करी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको कुरा विभिन्न ४१ मुद्दामा ५४ जना पक्राउ गरी कानुनी कारवाही गरेको, ८ जना फरार व्यक्ति पक्राउ गरी सम्मानित जिल्ला अदालतमा बुझाएकोबाट पनि प्रष्ट हुन्छ ।
कानुन विपरित काम गरी फाइदा लिनबाट बञ्चित भएका बाहेक आम जनता एवम् अन्य व्यापारीहरु अत्यन्त खुशी भएको कुरा टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीहरु, इलाका प्रहरी कार्यालय टिकापुर कैलालीको कार्यक्षेत्रभित्र पर्ने २ वटा स्थानीय तहहरु टिकापुर नगरपालिकाका मेयर लगायत जनप्रतिनिधिहरु र जानकी गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधिहरु, सबै राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, विभिन्न मिडियामा आवद्ध पत्रकारहरु, शिक्षक, बुद्धिजिवि वर्ग एवम् समाजसेवीहरुसित बुझ्दा झन स्पष्ट होला ।
म जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी प्रमुख हुँदा उदाहरणीय कार्य सम्पादन गरेवाफत सम्माननीय राष्ट्रपतिज्यूबाट ‘नेपाल प्रताप सुभुषण’ र २ पटक अभिलेखमा जनिने गरी नगद पुरस्कार प्राप्त गरेको, इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको प्रमुख हुँदा अभिलेखमा जनिने गरी नगद पुरस्कार प्राप्त गरेको कुरा प्रष्ट पार्न चाहन्छु ।