चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर, अझैपनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् ।
केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन् । यस सडकखण्ड पहिरोका कारण प्रत्येक वर्ष अबरुद्ध हुँदै आएको छ । बर्खा लागेसँगै पहिरो खस्नु नयाँ होइन ।
विश्व बैंकको पहिरो विज्ञसहितको प्राविधिक टोलीले यसअघि दुईपटक गरेको अध्ययनमा मौरीखोला माथिको एकापट्टी डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको थियो । सो ठाउँमा २५ हजार घनमिटर हाराहारीमा पहिरो खस्नसक्ने विज्ञ टोलीको अनुमान छ ।
कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलले भने, ‘आठ÷दश हजार घनमिटरसम्म त धान्न सकिन्छ । बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ ।’ पहिरो कतिबेला खस्छ थाहा नहुने भएकाले बर्खामा यससडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण देखिएको छ ।
गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडो देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिराको जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ ।