काठमाण्डौं । लोक सेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई बिशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ। उनले छोरीलाई लोक सेवा आयोगको परीक्षा उत्तिर्ण गराउन उत्तरपुस्तिका सच्याउने काम गरेका थिए ।
विशेषका सदस्यत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासबाट मंगलबार यस्तो फैसला भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ वैशाख ०७८ मा शाहीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाएको थियो।

जसमाथि दुई वर्षपछि फैसला गर्दै विशेषले कसुर कायम गरेको हो। शाहीलाई ६ महिना कैदका साथै २० हजार रुपैयाँ जरिवाना तोकेको उपरजिस्ट्रार नारद भट्टराईले जानकारी दिए।
शाहीकी छोरी नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी थिइन्। छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराई उनलाई सफल गराउने नियतले उत्तरपुस्तिका सच्याएको पुष्टि भएपछि दुई वर्षअघि आयोगले मुद्दा दायर गरेको थियो ।