खजुरामा निषेधाज्ञा तोड्ने ५० सवारी कारवाहीमा



उज्वल गिरी-बाँके २४, साउन ।
बाँकेमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्राशसनले कार्यालयले जारी गरेको निषेधाज्ञालाई थप कडाइ गरेको छ ।
पछिल्लो समय बाँकेका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले कडाइ गरेको हो । बाँकेको खजुरामा निषेधाज्ञा तोड्ने ५० बढी सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । धनौली इप्रकाबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा तोडेर सवारीसाधन चलाएको पाइएपछि नियन्त्रणमा लिएर कारवाही गरिएको हो ।
पहिलो चरणमा जरिमाना तिराएर छाडिएको र फेरि पनि अटेर गरे प्रहरीले संक्रामक रोग ऐन अन्तर्गत कारवाही चलाउने चेतावनी दिएको छ । अस्थायी ट्राफिक पोष्ट र धनौली प्रहरीले पास विना गुडेका टेम्पो, मोटरसाइकल, अटोलगायतका सवारीसाधनलाई कारवाही गरेको जनाएको छ ।