काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट स्कुटरको ‘ब्रेक सु’को नाममा करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । उनका अनुसार भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास समेत जाँचकीले नै बनाउँछ ।

यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।