दिपेश जंग शाह/रुकुम पूर्व : प्राय ठाउँहरुमा फोहर व्यवस्थापनका लागि डस्टविन राखिएको हुन्छ तर लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा भने फोहर व्यवस्थापनका लागि डस्टविन नराखी स्थानिय बासवाट निर्मित डोको राखिएको छ ।

बढ्दो बजारीकरणसंगै प्लाष्टिक झोला र बजारको फोहोरलाई व्यवस्थापन गर्न र स्थानीय सीप/कलालाई प्रवद्र्धन गर्ने मुख्य उदे्श्यका साथ रुकुमकोट बजार क्षेत्रमा रुकुमकोट उद्योग वाणिज्य संघले डोकोको प्रयोग गरिएको रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतमले बताए ।

अध्यक्ष गौतमले हाल रुकुमकोट बजार क्षेत्रमा २० वटा डोको राखि सुरुवात गरिएको बताए । डोकोको प्रयोगले फोहोर व्यवस्थापनमा टेवा पुग्ने स्थानीय सीप कलाको प्रवद्र्धन हुने साथै प्लाष्टिक झोला, डस्टबिन प्रयोगमा समेत कमी आउने विश्वास गरिएको बताए ।


चाडै नै जिल्लाका अन्य बजार क्षेत्रहरुमा पनि क्रमिक रुपमा फोहर व्यवस्थापन कार्यक्रमलाई विस्तार गर्दै लैजाने अध्यक्ष गौतमले बताए ।