देशभर डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो


  • देशभर डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो
  • काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म दश हजार ७ सय २६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

    महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेंगु संक्रमण देखिएको छ । 

    डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ । यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ । 

    कोशी प्रदेशमा आठ हजार एक सय ९ जना, बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ । 



  • नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ (८९ दशमलव ६० प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् । सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौँ एक सय ५१ सङ्खुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेंगुका बिरामी भेटिएका छन् । 

    नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । 

    यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *