बुटवल : नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा नियमित उडान गर्दैछ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान गर्न लागेको हो ।
भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अहिले हप्ताको एकदिन उडान गरेर माग र बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमले जनाएको छ ।

निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् ।
यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिन सक्नेछन् ।