काठमाडौं । काठमाडौंको तीनकुनस्थित गैह्रीगाउँमा एकै परिवारका तीन सहित चार जनाको हत्या भएको छ ।
काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै गैह्रीगाउँको दिव्य सस्मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राई छन्।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
उनका अनुसार चारै जना सोही सस्मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।