सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा हुंदा दुई जनाको मृत्यु भएको हो ।
जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।
मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए।

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
दुर्घटनाबारे सवा ६ बजेतिर प्रहरीलाई सूचना आएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ।