काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सुरक्षाकर्मीलाई सचेत रहन निर्देशन दिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकमा देशका विभिन्न भागमा साम्प्रदायिक गतिविधिहरु बढिरहेको विषयमाथि छलफल भएको थियो । बैठकपछि जारी विज्ञप्तिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धमा समीक्षा भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधिहरु, विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी छलफल भयो ।’
बैठकमा उपप्रधान तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिवको उपस्थिति रहेको थियो ।